धर्मसांस्कृतिक अभियान, युके
संस्कृति भनेको समाजमा व्याप्त चलन र प्रथाहरूको समग्र स्वरूप हो । समाजको सोच, चिन्तन र कार्यशैलीमा संस्कृतिको अस्तित्त्व निहित हुन्छ । संस्कृत भाषाको ‘कृ’ करणे धातुमा सम् उपसर्ग र क्तिन् प्रत्ययलागेर बनेको यस शब्दको अर्थ कुनै पनि कार्य सव्य तरिकाले गर्नु भन्ने हुन्छ । ल्याटिन शब्द ‘कल्ट’ वा ‘कल्टस्’ बाट बनेको अंग्रेजी शब्द ‘कल्चर’ नै संस्कृतिका लागि प्रयोग भएको पाइन्छ । संस्कृतिको अर्थ राम्रो वा सुधारिएको अवस्था हो ।
मानिस स्वभावतः प्रगतिशील प्राणी हो । मानिसले बुद्धिको प्रयोगबाट वरपरको प्राकृतिक वातावरणलाई निरन्तर सुधार र अनुकूलन गरिरहेको हुन्छ । क्रमशः सुधारिएको जीवनशैली, चलन, आचरण, विचार, अनुसन्धान र आविष्कारबाट मानिस पशु वा जङ्गली सभ्यताबाट माथि उठेर सभ्य बन्दछ । भौतिक प्रगतिले शरीरको भोक मेटाउन सक्छ तर मन र आत्मा अतृप्त रहन्छ । त्यसलाई सन्तुष्ट पार्न मानिसले गर्ने आत्मिक तथा सामाजिक विकासलाई संस्कृति भनिन्छ । यही सभ्यता नै संस्कृतिको अंग हो ।
पूर्वीय समाजमा हजारौं वर्षअघि ऋषिहरुले अनेकौं अभ्यास र अनुसन्धन गरी मानव विकासका लागि उपयुक्त वैज्ञानिक संस्कृतिको विकास गरेका थिए । यसलाई धर्मका नाममा मलजल भइरहेको छ । हामीले ती जीवन अनुकूल रीति वा संस्कारलाई आद्यपर्यन्त अनुशरण गरिरहेका छौं । यसलाई बचाइराख्नु आजको जीववैज्ञानिक आवश्यकता पनि हो ।
युकेमा रहेका सम्पूर्ण नेपालीहरुको माझमा एउटा साझा संस्थाको रुपमा विस्तार गरी नेपाली धर्म, संस्कृति, रीति, भेषभूषा र प्रतिष्ठालाई संरक्षण, संवद्र्धन र बिस्तार गर्दै आम नेपालीको गौरवपूर्ण अस्तित्त्व कायम गर्ने उद्देश्य राखी यो संस्था स्थापना भएको हो । यो संस्था विशुद्ध सनातन धार्मिक सांस्कृतिक सामाजिक संस्था हो ।
यस संस्थाका उद्देश्यहरु
नेपाली सनातनी धर्म, संस्कृति, रीति, भेषभूषा र प्रतिष्ठालाई संरक्षण, संवद्र्धन र बिस्तार गर्दै आम नेपालीको गौरवपूर्ण अस्तित्त्व कायम गर्ने ।
संस्थाको केन्द्रीय कार्यालय रहने क्षेत्र कार्डिफ वरिपरि बसोबास गर्ने नेपालीहरुको धर्मसांस्कृतिक प्रयोजनका लागि एक धर्मसांस्कृतिक केन्द्र निर्माण गर्ने ।
विदेशी भूमीमा पनि नेपाली परम्परागत भाषा, कला, संस्कृतिलाई जीवन्तता दिन तथा भावी पुस्ता र सन्ततिमा समेत त्यसको ज्ञान, पहिचान र अनुभव प्रदान गर्दै सनातन संस्कृतिको निरन्तरताका दिनका लागि आवश्यक कार्यक्रम, मेला, पर्व, अनुष्ठान, उत्सव, परामर्श, प्रकाशन आदि आयोजना गर्ने र गराउने ।
स्थानीयतालाई आधार मानेर संस्थाको उद्देश्यपूर्तिका लागि युके सरकार र राज्यसरकार, स्थानीय निकाय, राष्ट्रिय एवं अन्तराष्ट्रिय संघसंस्था तथा सम्बन्धित निकायसंग समन्वय गरी सबैको सहयोगमा कार्यक्रमहरु सञ्चालन गर्ने ।
युकेस्थित नेपाली समुदाय, समाज र संघसंस्थाहरुसंग समन्वयात्मक सहसम्बन्ध बिस्तार गर्ने ।
मानवीय संवेदनाका विपत्ति तथा आवश्यक परिवेशमा संस्थागतरुपमा सांस्कृतिक मानवीय सहयोग गर्ने वा गराउने र युकेमा बसोबासरत नेपाली तथा नेपाली मूलका नागरिकहरुका बीचमा एकापसमा सौहार्दता बृध्दि गर्ने ।
सदस्यतासम्बन्धी व्यवस्था
नेपाली धर्मसंस्कृतिलाई माया गर्ने र अनुशरण गर्न चाहने र विधानको दफा ५.३ अनुसारका योग्य व्यक्ति वा संस्थाले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् ।